परिचय

परिचय


परिचय

कृषि विकास बैंक कर्मचारी संघ, नेपाल, कृषि विकास बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको हकअधिकार, पेशागतसुरक्षा, सम्मान र समुचित प्रतिनिधित्वका लागि समर्पित, नेपालको श्रम आन्दोलन, संस्थागत उत्तरदायित्व र वित्तीय सेवामार्फत सामाजिक रूपान्तरणमा विश्वास गर्ने एक प्रगतिशिल कर्मचारी संगठन हो । कर्मचारी अधिकार सुनिश्चित गर्ने,  श्रमिकको आवाजलाई संस्थागत बनाउने, श्रम–प्रशासन सम्बन्धलाई सन्तुलनमा ल्याउने र समावेशी संस्थागत विकासमा योगदान दिदै संस्थाको सुधारको साझेदार लक्ष्यका साथ  संघको स्थापना गरिएको थियो । वि.सं. २०४६ सालको प्रजातान्त्रिक जनआन्दोलनको परिवेशमा यस बैंकका कर्मचारीहरू पनि संगठित भएर श्रमिक अधिकारका लागि आवाज उठाउन थाले ,सोही प्रक्रियाबाट कृषि विकास बैंक कर्मचारी संघको स्थापना वि.सं. २०४६ साल चैत्र ३१ मा भएको हो । यस संघको इतिहास केवल एक संस्थागत संरचना स्थापना गर्ने बाटो मात्र थिएन – यो हजारौं कर्मचारीहरूको सपना, संघर्ष, आशा र प्रतिबद्धताको प्रतिफल थियो।


वि.सं. २०७८ चैत्र ४ मा संघमा व्यापक पुनःसंरचना (Re-engineering) गरिएको थियो, जसले संघलाई नयाँ युगका आवश्यकतासँग मेल खाने गरी अझ प्रभावकारी, उत्तरदायी, समावेशी र गतिशील बनाएको छ । प्रदेश र केन्द्र तहमा विषयगत विभागहरू गठन गरी महिला, युवा र विविध वर्गलाई नेतृत्वमा समेटिएको छ। संघको यो पुनःसंरचना संघको ऐतिहासिक विरासतमा नयाँ ऊर्जा थप्ने र वर्तमान–भविष्यका चुनौतीलाई सामना गर्न सक्षम बनाउने महत्त्वपूर्ण कदम भएको छ।


संगठित, उत्तरदायी, जवाफदेही र संस्थागत समृद्धिप्रति प्रतिबद्ध बनाएर नीतिगत योगदानलाई थप प्रभावकारी बनाएको छ । सबै तह र वर्गका कर्मचारीलाई संगठित गर्दै, उनीहरूको आवाज नीतिगत तहमा पु¥याउने काम गरिरहेको छ ।  संघको उद्देश्य केवल माग राख्नु मात्र नभई, समस्या समाधानकर्ता, नीति सल्लाहकार, र संस्थागत सुधारको सह–संरचनाकार, समावेशी विकास, र साझा समृद्धिमा सक्रिय सहकार्य गर्नु पनि हो । संघले कर्मचारीको हक, हित, तालिम, क्षमताविकास, सुरक्षाको सुनिश्चितता, सरकारी रणनीतिहरूसँग सहकार्य, शाखा सुदृढीकरण र संस्थाको कार्यकुशलता वृद्धिमा बराबरी ध्यान दिँदै, श्रम र व्यवस्थापनबीचको सशक्त सेतुको रूपमा कार्य गर्दै आएको छ । हामी संस्थागत स्थायित्व र कर्मचारी सशक्तिकरण मार्फत कर्मचारी र संस्थाको दीर्घकालीन हितलाई एकैसाथ अघि बढाउने मार्गलाई हाम्रो यात्राको मूलधार मान्दछौं। संघले समतामूलक मूल्य, सहभागितामूलक नेतृत्व, र साझा निर्णय प्रक्रिया, पारदर्शी कार्यशैली र जवाफदेही संस्थागत संरचना मार्फत संगठन सञ्चालन गर्दै आएको छ ।